विज्ञापन

जापानी प्रधानमन्त्री शिन्जो आबेले दिए पदबाट राजीनामा

 

काठमाडौँ, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामाको घोषणा गरेका छन्।

शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गरेका हुन्। सम्बोधनमा उनले खराब स्वास्थ्यका कारण पदबाट राजीनामा दिनुपरेको भन्दै कार्यकाल पूरा गर्न असमर्थ भएकामा जनतासँग क्षमा मागेका छन्। राजीनामा दिएपनि भावी प्रधानमन्त्री नचुनिएसम्म उनी नै पदमा रहनेछन्।

पछिल्लो एक सातामा मात्रै उनको थुप्रै स्वास्थ्य परीक्षणहरू गरिएका थिए। ६५ वर्षका आबे लामो समयदेखि बिरामी थिए। पछिल्लो समय उनको अवस्था झन् खराब हुँदै गएको छ। आबेले आफ्नो स्वास्थ्यका कारण सरकारलाई समस्या नपरोस् भन्ने चाहना राख्दै राजीनामा दिएका हुन्।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

गएको सोमबार उनले जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको कीर्तिमान बनाएका थिए। उनले ७ वर्ष ८ महिनासम्म पदमा रहेर रेकर्ड बनाएका हुन्।

Post a Comment

0 Comments