विराटनगर, १७ भदौ । मोरङका उद्योगी व्यवसायीहरूले जिल्लामा जारी निषेधाज्ञाको अन्त्यको माग गरेका छन् ।
स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा अन्त्यको माग उद्योगी व्यवसायीले गरेका हुन्।
मोरङ प्रशासनले बुधबारदेखि लागू हुनेगरी ६ दिनका लागि जिल्ला भर निषेधाज्ञा लम्ब्याएको थियो । त्यसलगत्तै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघको तर्फबाट बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती व्यापारीक संगठनले निषेधाज्ञा लम्बिने क्रमसगै उद्योग व्यवसायमा नकारात्मक असर पुगेको भन्दै भदौ २२ गतेपछि जिल्लामा निषेधाज्ञालाई निरन्तरता नदिन आग्रह गरेका हुन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्षहरू भीम घिमिरे, प्रकाश मुन्दडा र सुजन थापाले जारी संयुक्त विज्ञप्तिमार्फत बिना कुनै विकल्प लकडाउन र निषेधाज्ञा मुलुकले धान्न नसक्ने भन्दै अब निरन्तरता नदिन माग गरेका छन् ।
ती संगठनले बन्दाबन्दी र निषेधाज्ञाले आम जनजीवन अस्तव्यस्त भएको र आर्थिक गतिविधि ठप्प भएको भन्दै संयुक्त विज्ञप्तिमा अब सदाको लागि यी कामहरू बन्द गर्न सुझाव दिएको छ ।
उद्योगहरू पूर्णसमय सञ्चालन गर्न नसक्दा उत्पादन कटौति भएको, मजदुरहरूको रोजगारी गुमेको, उत्पादित वस्तु बिक्री वितरण गर्न नसक्दा गोदाममा थन्किएको र बजार बन्द हुँदा कतिपय उपभोग्य वस्तुको उपभोग्य अवधि समाप्त भई नोक्सानी व्यहोर्नु पर्ने अवस्था आएकोले निषेधाज्ञालाई पुन नबढाउन माग गरेको हो ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य प्रोटोकलको पालना र कडा अनुगमन गर्दै उद्योग, व्यवसाय तथा अन्य कामलाई निरन्तरता दिन दुवै संगठनले आग्रह गरेको छ ।
सबै उद्योग तथा व्यवसायहरू निर्धारित मापदण्डभित्र रहेर सञ्चालन गर्न व्यवसायीहरूलाई पनि अनुरोध गरेको छ । सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन, प्रयाप्त आइसोलेसन र आईसीयूको प्रबन्ध गर्न पनि उद्योगी व्यवसायीहरूले आग्रह गरेका छन् ।






0 Comments