विज्ञापन

सम्पादकीय

वर्तमान समय विश्वकै लागि प्रतिकूल समय हो। कोभिड-नाइन्टिन रोगको कारण अहिलेको समय निकै असामान्य छ। ठूला र सम्पन्न मुलुकदेखि साना र कमजोर आय भएका सबैसबै मुलुक कोरोना महामारीबाट आक्रान्त बनेका छन्।

नेपाल पनि शुरुवाती अवस्थादेखि नै कोरोनाको संभावित जोखिम न्यूनिकरणका लागि जुटिरहेको देखिन्छ। गत चैत्र ११ गतेदेखि साउन ७ गतेसम्म नेपाल लकडाउनबाट गुज्रयो। शुरुवातमा नेपाल सरकारले चालेको कदमलाई सकारात्मक रूपमै मूल्यांकन गरिएको भएपनि समय गुज्रिंदै जाँदा सरकारको गतिविधि त्यति सन्तोषजनक देखिएन।

रोगले भन्दा भोकले मानिस मर्ने स्थिति पैदा भएपछि सरकारको खूब विरोधसमेत भयो। हुन पनि सरकारले कोरोनाको संकटको बेला देखाएको तत्परता र उसको गतिविधि खासै प्रभावकारी भएन। कोरोनाको औषधी तथा अन्य उपकरण र सामग्रीहरू खरिद तथा क्वारेन्टिन व्यवस्थापन लगायतका कामहरूमा भ्रष्टाचारको गन्ध आइरह्यो।

मानिसहरू कुनै दल र सिद्धान्त नभनेर स्वस्फूर्त सडकमा ओर्लिन भ्याए। प्रधानमन्त्रीको राजीनामा मागियो। कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ परिमार्जित नक्सा सार्वजनिक तथा निशान छापका लागि संविधान संशोधनको कारण केही चर्चा र विश्वास बटुल्न सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शाखलाई बेसार काण्डले धूलिसात् पारिदियो।

सबैको ध्यान अहिले कोरोनाविरुद्ध एकत्रित हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन। विगत केही महिनादेखि नै समयान्तरमा विभिन्न विषय र घटनाले चर्चा पाइरह्यो भने मुख्य मुद्दा छायाँमा परिरह्यो। झन् पछिल्लो समय सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो र लफडा हेर्नलायक बनेको छ।

नेताहरूको जुहारी चलिरहेकै छ। भेटघाट र बैठक कहिले यता कहिले उता भइरहेकै छ। कहिले फुट्यो-फुट्यो हुन्छ, कहिले यथास्थानमै आइपुग्छ। सत्तामा पुग्न दलभित्रै भइरहेको यो दौडधूप र रस्साकस्सीले गतिलो परिणाम दिँदैन भन्नेमा धेरैजना निश्चिन्त छन्। फगत् खेलको रूपमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई कहीं पुर्‍याउँदैन, बरु शत्रु हँसाउने निश्चित छ।

पाँच वर्षको लागि जनादेश पाएको नेकपा सरकारको हविगत नराम्ररी बिग्रेको छ। कुर्चीको लागि खेल भइरहँदा देशका प्रमुख समस्या र मुद्दाहरू पाखा लागेका छन्। सरकार नौटङ्की देखाइरहेको छ भने प्रतिपक्ष भनाउँदो नेपाली काँग्रेस रमिते बनिरहेको छ। जनता त भोक, रोग र शोकले थलिएकै छन्, गरिबी र बेरोजगारीको जाँतोमा पिसिएकै छन्। जनता त लडिरहने त हो नि, भलै लड्ने कारण बेला र परिस्थिति अनुसार फरक-फरक होलान्। 

झन् अहिले दिनानुदिन कोरोना संक्रमण बढिरहेको छ। लकडाउन फिर्ता लिएको भन्ने सुन्नमा आएको दिनदेखि बाहिरी जिल्लाहरूबाट काठमाडौं ओइरिने मानिसको संख्या ह्वात्तै बढेको छ। संक्रमणको दर पनि उपत्यकामा आकाशिएको छ। वीरगञ्ज र विराटनगर लगायतका शहरहरूमा स्थिति भयावह बन्दै गइरहेको छ। यस्तो समयमा पनि सरकार र सत्तारूढ दलले रमिता देखाएर बस्न मिल्छ?