काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ।
मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनको परिवारस्रोतले जनाएको छ। उनको अन्त्यष्टि आजै पशुपति आर्यघाटमा गरिनेछ । सेनाले उनको अन्त्येष्टिमा सम्मान दिने तयारी गरिरहेको बताइएको छ।
घिमिरेको जन्म वि.सं. १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो। सरकारले राष्ट्रकविको उपाधि दिएका कवि घिमिरेले नेपाली साहित्यमा कविता, खण्डकाव्य, गीतिनाटक, कथा, गीत, अनुवाद इत्यादिमा कलम चलाएका छन्।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर-किन्नरी कविता संग्रह प्रकाशित छन् भने 'गौरी' खण्डकाव्य उनको सर्वाधिक रुचाइएको कृति हो।




0 Comments