विज्ञापन

कोरोनाको कारण विश्व राजनीतिमा देखिने सम्भावित असर


कोरोना भाइरस अर्थात् कोविड-नाइन्टिनले विश्वलाई तरङ्गित बनाइदिएको छ। बिल्कुलै तल्लो तहका आम मानिसदेखि उपल्लो वर्गका मानिस जोकोही पनि कोविडको आतंकबाट मुक्त हुन सकेका छैनन्। कोरोना भाइरसको असर केवल विश्वको स्वास्थ्य प्रणाली र अर्थतन्त्रमा मात्र परेको छैन, बरु यसले विश्व मानव सभ्यताका हरेक पक्षमा छाप छोड्ने देखिन्छ।

कतिपयले कोविडलाई केवल स्वास्थ्य प्रणालीसँग जोडेर हेर्दछन् भने केहीले यसलाई विश्वभर थलिंदै गइरहेको अर्थतन्त्रसँग गाँसेर हेर्छन्। हुन पनि विश्वभरको स्वास्थ्य प्रणालीमाथि नै कोविड-१९ भारी परेको देखिन्छ। अमेरिका जस्तो शक्तिशाली मुलुक समेत यो भाइरससँग हार खाइरहेको छ। रोग देखिएको लामो समय भइसक्दा पनि यसको औषधी र खोप पत्ता लाग्न नसक्नुले पनि यो रोग कति बलियो छ भनेर बुझ्न सकिन्छ। 

स्वास्थ्य क्षेत्रबाहेक कोविडको असर विश्वमा सबैभन्दा बढी परेको भनेको अर्थतन्त्रमा हो। विश्व नै लामो समयसम्म लकडाउनको अवस्थामा ठप्पप्रायः भएर रहँदा अर्थतन्त्रको वृद्धि र विकास कसरी होस्? अर्थतन्त्रका विभिन्न अवयवहरू चलायमान हुन नसक्दा अहिले हरेक क्षेत्रमा गम्भीर असर परेको छ नै। भौतिक विकास र सामाजिक उन्नयनसँग अर्थतन्त्र पनि जोडिने हुँदा कोरोनाको असर मापन गर्नै नसकिने अवस्थामा छ भन्दा अत्युक्ति नहोला।

मानिसहरू केवल बिरामी मात्र परेनन्, कैयौंले ज्यान गुमाइसकेका छन्। केही मुलुक र स्थान विशेषमा संक्रमण रोकिएको भनिएपनि चौतर्फी रूपमा संक्रमण फैलिने क्रम रोकिइसकेको छैन। विश्वका मानिसहरू अहिले पनि आत्मविश्वासलाई ‍औषधी र समाजिक दुरीलाई अचूक अष्त्र मानेर कोरोनाविरुद्ध लडिरहेका छन्। 

वर्तमान परिप्रेक्षमा कोरोनाविरुद्ध तेस्रो विश्वयुद्ध नै भइरहेको मानिन्छ। यसअघि भएका दुई ठूला विश्वयुद्धहरू विश्वभरका मुलुकहरू दुई समूहमा विभाजित भएर लडेका थिए। तर यो युद्ध ती युद्धहरू भन्दा पनि भयङ्कर मान्न सकिन्छ, किनकि हाल विश्वभरका देश र सरकार एकापट्टि छन्  भने एउटा नाथे आँखाले नदेखिने कोरोनाभाइरस अर्कोपट्टि । तर विश्व नै लाग्दा पनि कोरोनालाई तह लगाउन सकिएको छैन।

हामीले कोरोनाविरुद्धको अभियानलाई तेस्रो विश्वयुद्ध भनिरहँदा एउटा के कुरालाई चाहिं स्वीकार्नु पर्ने हुन्छ भने यसले विश्वको राजनीतिक शक्ति-सन्तुलनमा पक्कै पनि भूमिका खेल्नेछ। कोरोनाको असर धेरै नकारात्मक र थोरै सकारात्मक पर्ने आंकलन गर्न सकिन्छ। यसको असर चाहे नकारात्मक नै किन नहोस्, यसले हरेक क्षेत्रमा नयाँ संभावनाको शुरुवात गर्नेछ।
 
कोविड-१९ को समाप्तिसँगै विश्वमा नयाँ राजनीतिक शक्ति केन्द्रको उदय हुने निश्चित छ। भलै यसले हरेक क्षेत्र र तहमा असर छोड्नेछ। विश्वका विभिन्न मुलुक र त्यहाँका सरकारमा देखिने शक्ति परिवर्तनले शक्तिको नयाँ सन्तुलन बिन्दु कायम हुनेछ। दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका विश्वमा नयाँ शक्ति केन्द्रको रूपमा उदय भएको यथार्थ हामीसामु छर्लङ्गै छ। राजनीतिमा देखिन सक्ने सम्भावित परिवर्तनको छनक विश्वमा अहिले नै महसूस गर्न सकिन्छ।

विश्व-राजनीतिमा देखिन सक्ने परिवर्तनको सबैभन्दा बलियो तर्क र कारण भनेको हाल कोरोना भाइरसविरुद्ध विभिन्न मुलुकका नेतृत्व र सरकारले चालेका कदम वा अभियानहरू नै हुन्। यसलाई कुन देशले कसरी कुन रणनीति अपनाएर होमियो भन्ने कुराले विशेष महत्व राख्दछ। विश्वको कुरा छोडौं, तेस्रो विश्वमा पर्ने कुनै सानो मुलुकलाई नै लिऊँ। त्यहाँ सरकारले लिएको नीति र ल्याएको राहत कार्यक्रमलाई जनताले तौलिरहेका छन्। नेपालकै कुरा गरौं न। नेपालमा सरकारको लापरवाही र हेलचेक्र्याँइको कारण लकडाउन समेत नभनेर स्वस्फूर्त रूपमा कसरी मानिसहरू सडकमा निस्किए? सरकारमा नेतृत्व परिवर्तनका लागि दौडधुप चलेकै हो। नेपाली राजनीतिमा यसले कस्तो दूरगामी असर छोड्ला, त्यो भने हेर्न बाँकी नै छ।

कुनै पनि मुलुकमा सिर्जना हुने विविध समस्याहरू नै राजनीतिक शक्ति-परिवर्तनमा कारक सिद्ध हुनेछन्। विश्वभर नै कोविड-१९ को कारण गरिबी र बेरोजगार बढिरहेको छ। यसले थप निम्त्याउने जोखिम भनेको भोकमरी र रोग नै हो। समाजमा विकराल रूपमा देखिने यस्ता समस्याहरू राजनीतिक दलहरूका लागि नयाँ मुद्दा बन्नेछन् । गरिबीले सेकिएका र भोकले टाट पल्टिएकाहरूबीच नयाँ आश्वासन र सपना लिएर दलहरू पुग्नेछन्। जसले सत्ता र शक्ति परिवर्तनको सम्भावनालाई जीवित राखेको छ।

विश्वमा अहिले अन्तर-देशीय व्यापार र गैह्र-नाफामूलक सहयोग तथा लगानी ठप्पजस्तै छ। करोनाविरुद्धको भ्याक्सिन र औषधीको खोज तथा अनुसन्धानमा विश्व नै एकजुट भएर लाग्नुपर्नेमा अहिले यात्रा-प्रतिबन्ध र लकडाउन कार्यान्वयनमा धेरै मुलुकहरू लागिरहेका छन्। पर्यटन र अन्तरराष्ट्रिय व्यापारलाई सन्तुलनमा राख्नुको साटो राष्ट्रहरू विश्वव्यापीकरणको अवधारणा विपरीत केन्द्रीकृत भइरहेका छन्। महामारीले निम्त्याएको आर्थिक संकटले गर्दा भू-राजनीतिक खण्डीकरणको श्रृङ्खला उच्चतम बिन्दुमा पुगिसकेको छ। 

खासमा कोरोनाको कहरले सबैजसो मुलुकलाई स्व-निर्भर बनाउन प्रेरित गरेको छ भने यस्तो विषम परिस्थितिमा विश्वका महत्वपूर्ण र ठूला मानिएका संघ/संगठनहरूको भूमिका फितलो र निष्प्रभावी देखिन्छ। यतिबेला विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन जस्ता अन्तर्राष्ट्रिय संगठनहरूको औचित्यमाथि प्रश्न उठेका छन्। गएको अप्रिलमा कोरोना संकटको बिचोबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिंदै आएको सहयोग रकम बन्द गर्ने घोषणा गरे। यसले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका लागि अभिभावकीय भूमिका खेल्न नसकेको प्रमाणित गर्दछ।

कोरोनाले विश्व राजनीतिलाई कसरी विभाजित गर्दैछ भन्ने दृष्टान्त त हामीले शुरुवाती अवस्थामै देखिसकेका थियौं। पश्चिमाहरूले कोविड रोगलाई नै "एशियाली" रोगको संज्ञा दिन भ्याए। यसबारे अमेरिका र चीनबीच जुहारी नै चल्यो। अमेरिकी राष्ट्रपतिले त कोरोना भाइरसलाई "चिनियाँ भाइरस" को नाम मात्र दिएनन्, बरु यसलाई अमेरिकालाई सिध्याउन चीनले चालेको रणनीतिको रूपमा लिए। उता अमेरिकाले कृत्रिम रूपमा भाइरस बनाएको र चीनलाई सिध्याउन अमेरिकी सेनाले चीनमा फैलाएको भन्दै चीनले आरोप लगायो। अमेरिकाले त चीनसँग असल सम्बन्ध राख्ने कतिपय युरोपेली मुलुकका नागरिकहरूलाई समेत अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको थियो। यसमा युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमनको असरसमेत देखिन्छ। कोरोना विरुद्ध चीनले लगाएको यात्रा प्रतिबन्ध र लकडाउन मोडेलको ट्रम्पले खुलेरै विरोध गरे। अझ भनौं - "ट्वीट डिप्लोमेसी"को प्रयोग उत्कर्षमा पुग्यो। उनको एन्टी-चाइना नीतिका कारण अमेरिकामा कोरोनाको असर थप बढेर गयो। राष्ट्रपति ट्रम्पले लिएको कदमले उनको राजनीतिक भविष्य नै दाउमा राखेको छ। यसबाट के सिद्ध हुन्छ भने कोरोना रोग मात्र पक्कै होइन, यो विश्व राजनीतिमा देखिने सम्भावित परिवर्तनको संवाहक हो।

अमेरिकामा हुन गइरहेको आगामी राष्ट्रपतीय निर्वाचनमा मुख्य मुद्दा नै स्वास्थ्य नीति बन्ने देखिन्छ। स्वास्थ्य बीमादेखि अस्पताल, चिकित्सक, शैया र बिरामीको अनुपात हेर्दा अहिले अमेरिका जर्मनी लगायतका कतिपय मुलुकभन्दा कमजोर देखिएको छ। राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनले स्वास्थ्य सम्बन्धी लिएको नीति अहिले आएर दलभित्र आन्तरिक प्रतिस्पर्धामा उत्रिएका पूर्व-प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सको "सबैका लागि स्वास्थ्य" नीतिसँग मेल खान्छ। यस अर्थमा, कोरोनाले नै डेमोक्र्याटिक पार्टीको नयाँ आधारभूमि तयार पारेको हो।

वास्तवमा कोरोना र यसको विश्वव्यापी महामारीले निम्त्याएको संकट व्यापक र गम्भीर प्रकृतिको छ। विश्व राजनीतिक वृत्तमा कोरोनाको प्रभाव चुलिंदो छ भने शक्ति-सन्तुलन र सत्ता परिवर्तनमा समेत यसको भूमिका नजरअन्दाज गर्न मिल्दैन। जेजस्तो भएपनि कोरोनाले हामी सबैलाई गतिलो पाठ सिकाएको छ। आम-सर्वसाधारण मानिसको आचरण, बानी-व्यवहार आदिमा मात्रै नभई यसले विश्वमा भावी स्वास्थ्य प्रणाली कस्तो हुनुपर्दछ र कस्तो स्वास्थ्य नीति अपनाउँदा राम्रो होला भनेर नेतृत्वकर्ता र नीति-निर्माताहरूलाई दिशा-निर्देश गरिरहेको छ। 

                                                            - भानुभक्त बिष्ट

Post a Comment

0 Comments