जनकपुरधाम, २३ साउन । अस्पताल र रेडक्रसको लापरवाहीको कारण जनकपुरधाममा एक सुत्केरी महिलाको ज्यान गएको दाबी गरिएको छ। जनकपुरस्थित रामजानकी अस्पतालमा महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो।
'ओ पोजेटिभ' समूहको रगतको साटो 'बी पोजेटिभ' रगत चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको परिवारजनको आरोप छ। व्यथा लागेपछि बिहीबार दिउँसो ४ बजे उनलाई अस्पताल भर्ना गरिएको थियो। अप्रेशनमार्फत् गंगादेवीले छोरी जन्माएकी थिइन्। उनको शरीरमा रगत अभाव भएपछि अस्पतालले सुत्केरीको रगत नमूनासहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो।
रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो। त्यसको केही बेरपश्चात् सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले बताए।
"अस्पतालले भनेअनुसार नै स्याम्पल लिएर गएर रेडक्रसबाट रगत ल्याएको थिएँ" उनले भने, "त्यहीमध्ये एउटा पोका बी पोजेटिभ रगत अस्पतालले चढाएकोले मेरो श्रीमतीको मृत्यु भएको हो।" उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन्। दोषी अस्पताल र रेडक्रसलाई कारबाही गरी आफूहरूलाई क्षतिपूर्ति नदिएसम्म श्रीमतीको शव नउठाउने उनको चेतावनी छ।
अस्पताल प्रशासनले भने रेडक्रसको लापरवाहीले सुत्केरीको जीउमा 'ओ'को ठाउँमा 'बी' पोजेटिभ चढेको दाबी गरेको छ। अस्पतालले पठाएको स्याम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यही चढाएकाले यसमा अस्पतालको कुनै त्रुटी नभएको अस्पतालका सञ्चालक गणेश साहले दाबी गरे।




0 Comments