विज्ञापन

पदबाट राजीनामा दिन प्रधानन्यायाधीशलाई मिश्रको आग्रह



काठमाडौं, १० साउन । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। संसदले महाअभियोग लगाए सर्वोच्च निकम्मा ठहर्ने भन्दै मिश्रले अदालतको सम्मानका लागि पनि पदबाट राजीनामा दिन जबरालाई आग्रह गरेका हुन्।

माइतीघर मण्डलामा 'न्यायका लागि साझा तराजु यात्रा' कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबराको निर्णय विवादित रहेको र जनताले स्वीकार गर्न नसकेको बताए। जबराको फैसला शंकाको घेरामा रहेको भन्दै मिश्रले संसदमा महाअभियोग प्रस्तावबारे छलफल हुनुअघि नै राजीनामा दिई सर्वोच्च अदालत र जनताको विश्वास पुनर्स्थापित गर्न आग्रह गरे।

 महाअभियोग लगाउन योग्य व्यक्तिहरूलाई पदमा बहाली गर्नेहरूलाई नै महाअभियोग लगाउनुपर्ने मिश्रले बताए। बखुण्डोलबाट शुरु भएको पदयात्रा माइतीघर मण्डलामा पुगेर समाप्त भएको थियो। यात्रामा सहभागीहरूले "भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं", "त्रुटिपूर्ण फेसला रद्द गर, पीडितलाई न्याय गर" जस्ता नाराहरू लेखिएका प्ले कार्ड बोकेका थिए।

Post a Comment

0 Comments