धरान, २९ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितहरूको उपचारको दायरा बढाएको छ। प्रतिष्ठानले पूर्ण क्षमतालाई विस्तार गर्दै कोभिड अस्पताल सञ्चालनमा ल्याएसँगै अब १२ वटा भेन्टिलेटर, २० वटा एचडीयू युनिटसहित २ सय जना बिरामीलाई सेवा प्रदान गर्न सक्ने भएको छ। यसअघि १ सय शैया मात्र सञ्चालनमा रहेको थियो।
प्रतिष्ठानले कोभिड-१९ का बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा आजदेखि उपचारमा दायरा बढाएर कोभिड-१९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए। उनकाअनुसार कोरोना संक्रमित बिरामीमा लक्षण देखिएकाहरूलाई कोभिड-१९ अस्पतालमा नयाँ संक्रमितलाई भर्ना गर्न थालिएको छ।
प्रतिष्ठानको इमर्जेन्सीमा आएका र कोरोना आशंका गरिएका बिरामीहरूलाई आजदेखि कोभिड-१९ अस्पतालमा राख्न थालिएको छ। प्रतिष्ठानमा पेइङ वार्ड र धर्मशालामा गरी दुईवटा भेन्टिलेटर सहित कोरोना संक्रमितहरूको उपचार हुँदै आएको थियो।
बैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कोभिड-१९ अस्पतालको उद्घाटन गरेर सञ्चालनमा आएको थिएन। आजदेखि सो अस्पतालमा बिरामी राख्न थालिएको प्रतिष्ठानकै एक चिकित्सकले बताए। उनका अनुसार १० वटा भेन्टिलेटर सहितको १ सय बेड क्षमताको सो अस्पताल सञ्चालनमा आउनुले दैनिक बढ्दै गएको कोरोना संक्रमितहरूको उपचारमा सहजता आउनेछ।
प्रतिष्ठान हाताभित्र छुट्टै स्थानमा रहेको सो कोभिड अस्पताल स्वास्थ्य सुरक्षाको हिसाबले पनि निकै सुरक्षित रहेकोले यसलाई पूर्ण रूपमा सञ्चालन गर्न सक्यो भने प्रदेश १ का गम्भीर प्रकृतिका कोरोना संक्रमितहरूले उपचार पाउन सक्नेछन्। तर प्रतिष्ठानको लापरवाही र गैरजिम्मेवारीपनले भने कहिलेकाहीँ समस्या निम्तिने गरेको छ।




0 Comments