काठमाडौं, २७ साउन । गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ। उनले अण्डकोषमा हानेर बोहोराको हत्या गरेको बयान दिएकी छिन्।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भई नजिक भएको जानकारी दिए। दाङ घर भएका बोहोरा काठमाडौं बस्दै आएका थिए।
कल्पनाले प्रहरीलाई दिएको बयानअनुसार हत्याको मुख्य कारण 'यौन शोषण र निर्वस्त्र तस्वीरहरू फेसबुकमा हालेको' भन्ने देखिएको अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।
महिलाले 'आफूले दहीमा स्लिपिङ ट्याबलेट मिलाएर खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको' साबिती बयान दिएकी छिन्। हत्यापछि शव व्यवस्थापन गर्न पौडेलले आफैंले मृतकको टाउको र खुट्टा काटेकी थिइन्। शव फालिसकेपछि उनी एम्बुलेन्स चढेर चितवन माइत गएको देखिएको एसपी थापाले बताए।
ती महिलालाई प्रहरीले सोमबार साँझ चितवनको टाँडीबाट पक्राउ गरेको थियो।






0 Comments