विज्ञापन

क्वाँटी खानुभयो? यस्ता छन् क्वाँटी खानुको फाइदा

क्वाँटी के हो?

विभिन्न थरिका गेडागुडीहरू भिजाएर टुसा उमारी तरकारीको रूपमा खाने प्रचलन नेपाली समाजमा परापूर्वकालदेखि रहिआएको छ। त्यही भिजाएर टुसा उमारिएको गेडागुडीलाई नै चलनचल्तीमा क्वाँटी भन्ने चलन छ। क्वाँटीमा नौथरिका गेडागुडीहरूको मिश्रण हुन्छ। ती नौ गेडागुडीमा चना, मस्याङ, मुगी, मास, बोडी, भटमास, सिमी, सानो केराउ र ठूलो केराउ पर्दछन्।


क्वाँटी नेवारी शब्द हो जसको अर्थ तातो झोल भन्ने हुन्छ। नेवार समुदायमा खाइने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ। क्वाँटी जहिलेसुकै खान सकिने भएतापनि विशेषतः जनै-पूर्णिमामा खाने चलन छ। उमारिएको गेडागुडीलाई मज्जाले पकाएर झोल खानाले चिसो भाग्छ भन्ने विश्वास छ। कृषिमा निर्भर हाम्रो समाजमा वर्षायाममा खेतीपातीको समयमा झरीको कारण चिसो लाग्ने हुनाले त्यो चिसो भगाउन पनि क्वाँटी खाने चलन चलेको हो।

जनै पूर्णिमालाई वर्षायामको अन्त्य मानिने हुनाले पनि क्वाँटी खाएर वर्षाको बिदाइ गर्ने हाम्रो परम्परा रहिआएको बुझिन्छ। साँस्कृतिक रूपमा यसको जति महत्व छ, त्यत्तिकै महत्व पौष्टिक हिसावले पनि छ। प्रोटिनले भरिपूर्ण नौथरिका गेडागुडी, त्यसमाथि टुसा उमारेर खाँदा हाम्रो शरीरलाई यसले कति फाइदा पुर्‍याउँछ, त्यो आफैं अनुमान गर्न सक्नुहुन्छ।

क्वाँटीले चिसो भगाउने र चर्म रोग ठिक पार्छ भन्ने जनविश्वास त छँदैछ, आधुनिक स्वास्थ्य विज्ञानले समेत यसको महत्वका बारेमा वर्णन गरेको पाइन्छ। हो, साँच्चै क्वाँटी हाम्रो स्वास्थ्यलाई निकै फाइदाजनक छ।

यस्ता छन् क्वाँटी खानुको फाइदाहरू:

१. क्वाँटीमा प्रशस्त प्रोटिन पाइन्छ। यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ।

२. टुसा उमारिएको हुनाले यसका प्रशस्त फाइबर पाइन्छ। फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर  जस्ता रोग निको पार्न सघाउँछ।

३. यसले कब्जियत हटाउँछ। साथै पाइल्स हुनबाट बचाउँछ।

४. शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

५. क्वाँटीको सेवनले तौल घटाउन मद्दत पुग्छ। किनकि यसमा फाइबर हुन्छ।

६. कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ र उच्च रक्तचाप नियन्त्रण गर्दछ।

७. कुपोषण हटाउनुको साथै बालबालिकाको वृद्धिविकासमा भरपूर सहयोग गर्दछ।

८. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँछ। यसले स्मरणशक्ति वृद्धि गर्छ।

९. क्वाँटीमा भिटामिन बी, सी, ई तथा क्याल्सियम र फस्फोरस जस्ता खनिज पदार्थहरू पनि पाइन्छ जुन हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ।

१०. झाडापखाला लागेको समयमा क्वाँटीको झोल खानु उत्तम हुन्छ। किनकि यसले शरीरलाई चाहिने पानीको मात्रा पूरा गर्छ।

११. सस्तो हुनाको साथै घरमै बनाएर खान सकिने हुनाले यसलाई सन्तुलित आहारको रूपमा लिन सकिन्छ।

१२. पर्याप्त मात्रामा पौष्टिक तत्व एवं भिटामिन पाइने हुनाले शारीरिक सुन्दरताको लागि पनि यो सहयोगीसिद्ध हुन्छ।

स्वास्थ्यलाई यतिधेरै हित गर्ने क्वाँटी खान जनैपूर्णिमा नै कुरिरहनु पर्दैन। यसलाई जुनसुकै बेला पनि पकाएर खान सकिन्छ।


Post a Comment

0 Comments