काठमाडौ, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा पाइएको हालसम्मकै सबैभन्दा बढी संक्रमित संख्या हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ सय १४ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएर घर फर्केका छन्।
हाल देशका विभिन्न स्थानमा कुल १० हजार ५ सय ६३ जना आइशोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये १ सय १८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा रहेको पनि मन्त्रालयले जनाएको छ।
गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ सय ५ जना संक्रमित थपिएका छन्। उपत्यकामा संक्रमित हुनेहरूमध्ये काठमाडौं जिल्लाबाट १ सय ३८, ललितपुरबाट ५० र भक्तपुरबाट १७ जना रहेका छन्।
यसैगरी पछिल्लोपटक पर्सामा १ सय २८ जना, मोरङमा १ सय ८ र सर्लाहीमा १ सय ७ जनामा संक्रमण पाइएको छ। मंगलबार धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७ र मकवानपुरमा ३० संक्रमित थपिएका छन्।



0 Comments