विराटनगर, ४ भदौ । प्रदेश नं. १ मा लक्षणसहितका बिरामीहरू बढेसँगै विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको सुविधा विस्तार गरिएको छ ।
अस्पतालमा लक्षणसहितका बिरामीहरूको उचित उपचार गर्ने लक्ष्यका साथ १० वटा आईसीयू बेड, २ वटा फिक्स्ड भेन्टिलेटर र ३ वटा पोर्टेबल भेन्टिलेटरसहितको सुविधा विस्तार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सरकारले गत चैतमा सञ्चालन गरेको अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभावमा केही समय अगाडि कोरोना संक्रमण भएका विराटनगरस्थित विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको थियो । त्यस प्रकरणमा चौतर्फी आलोचना खेपेको प्रदेश सरकार विरुद्ध मृतककी छोरीले उच्च अदालत विराटनगरमा रिटसमेत दायर गरेपछि सरकारले भेन्टिलेटर र आईसीयू सञ्चालनमा आएको जानकारी दिएको हो ।
बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मलेन गरी मन्त्रालयले कोभिड अस्पतालमा उपचाररत लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरूलाई नियमित अक्सिजन प्रवाहमा थप समस्या हुन नदिन दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखिएको जनाएको छ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा आएको आईसीयूमा अहिले ३ जना व्यक्तिहरूको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि पहिलो २ साता आवश्यक जनशक्तिको व्यवस्थापन कोशी अस्पताल र कोभिड– उपचार केन्द्रमा कार्यरत कर्मचारीहरूबाट गरिएको छ । थप जनशक्ति व्यवस्थापनका लागि आइतबारदेखि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम सञ्चालनको तयारी गरिएको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।
साउनको दोस्रो सातादेखि कोरोना संक्रमणको अनुपातमा वृद्धि हुँदै गइरहेकाले बढी संक्रमण देखिएका तथा स्थानीय तहहरूमा थप आईशोलेसन केन्द्र तयार गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । हाल प्रदेश नं. १ का ११ स्थानहरूमा करिब ९ सय बेड क्षमताको आईशोलेसन केन्द्रहरू सञ्चालनमा रहेका दाबी मन्त्रालयले गरेको छ । जसमा बुधबार बेलुकीसम्मको तथ्याङ्क अनुसार ४ सय ९९ जना संक्रमितहरूको उपचार भइरहेको छ ।
गत चैत्र २१ गतेदेखि सञ्चालनमा ल्याइएको कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा हाल २४ महिला र २८ पुरुष गरी ५२ जना उपचाररत छन् ।




0 Comments