थाहानगर, ८ भदौ । छिमेकी जिल्लाहरू तथा सदरमुकाममा कोभिड १९ संंक्रमित बिरामीको संख्या बढेपछि भाद्र ३ गते बिहान १२ बजेदेखि मकवानपुरको थाहा नगरपालिकामा लागू गरिएको निषेधाज्ञा आगामी भाद्र १५ गतेसम्मका लागि थप गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार जेसीज हलमा आयोजित समीक्षा बैठकमा सहभागीहरूले स्वाब संकलनको अवस्था रहेकोले सो अवधिसम्मका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गरेकाा हुन् ।
नगर प्रमुख लवशेर बिस्टले सहभागीहरूको अनुरोधलाई सुल्झाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गर्ने बताए । नियमित अनुगमनको क्रममा अघिल्लो लकडाउनभन्दा यसपटकको निषेधाज्ञामा आम व्यवसायीहरूले सघाएको नगर उपप्रमुख खड्ग गोपालीले बताए ।
बैठकमा नगरका सरोकारवाला संघ संंस्था, राजनीतिक दललगायतका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । बैठकले निषेधाज्ञा अटेर गर्नेहरूलाई प्रचलित कानून बमोजिम कार्वाही गर्न प्रशासनलाई सुझाव दिएको छ ।
इलाका प्रहरी कार्यालय पालुङ्गका प्रमुख विकास कुमार तमाङ्गले सबै नागरिकको सहयोग रहेमा प्रहरी तत्काल सुरक्षा सेवामा लाग्ने बताए। प्रहरी निरीक्षक तमाङ्गले निषेधाज्ञा अटेर गरेको पाइएमा तत्काल खबर गर्न अनुरोध गरे । बैठकले बैंक तथा वित्तीय संंस्थाहरू समेत बन्द गर्न सुझाव दिएको छ । कतिपयले भने समान रुपले कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
पछिल्लो समय प्रत्येक वडाबाट २०/२० जनाको दरले स्वाब संकलन गर्ने अभियान संचालित छ । तर, सोमबारसम्म पीसीआरको नतिजा आइसकेको छैन । यसअघि करिब ४ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ । तीमध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ७ जना उपचारपछि घर फर्किएका छन् । ५ जना उपचार गरिरहेका छन् । यद्यपि संक्रमित सबै थाहानगरमै निरन्तर बसोबास गरिरहेका व्यक्तिहरू भने होइनन् ।




0 Comments