विज्ञापन

न्यायको खोजी

    - सबिना बराल

एक हुल मानिसहरू नारा लगाउँदै थिए
झण्डा उचाल्दै उफ्रिंदै थिए
टन्टलापुर घामको प्रवाह नगरी
झमझम परेको झरीको पनि वास्ता नगरी
आफ्ना सम्पूर्ण बलले घाँटी सुक्ने गरी कराउँदै थिए-
"सरकार, हामीलाई न्याय देऊ।"

आफ्ना नैसर्गिक हक अधिकारहरू हनन् भए रे
झन् सत्ताको अधिकार त धेरै परको कुरा
हात मुख जोर्न पनि धौधौ छ।
त्यसैले पल्ला घरको साइँला दाइको 
महिनौंदेखिको भोको पेटको छटपटाइले ज्यान गएछ।

अर्को हुल मानिसहरू न्याय माग्दै कराइरहेका थिए-
"हामीलाई खान देऊ, सरकार।"
परदेशिएका परदेशीहरू घर फर्किए,
आफ्नै आँगन सम्झिए, आफ्नै बारी सम्झिए
र मातृवात्सल्य सम्झिए ।

यहाँ गोरु जोत्नेहरू 
उता आफैं गोरुझैं जोतिइरहेका थिए,
उता कुकुरका सुसारेहरू 
यता आएर आफैं कुकुरझैं 
सडक पेटीमा सुतिरहेका थिए।।
यता सिंहझैं गर्जिनेहरू
उता स्यालजस्तै निरीह बनिरहेका थिए।
अनि उता श्रम बेच्नेहरू
यता आएर मन बेच्दै थिए र भन्दै थिए-
"हामीलाई न्याय देऊ, सरकार !"
कतै सुस्ता हराए, कतै पुस्ता हराए,
कतै रोग, भोक र शोक थपिए,
कतै बिना सहमतिका सम्भोग थपिए,
कतै शासन थपिए, कतै राशन थपिए,
मानिसहरू लुछालुछ र कुटाकुट गर्दै थिए
र भन्दै थिए -
"हामीलाई न्याय देऊ, सरकार!"
गोधुलीमा घाम अस्ताउँदै थियो
तर पनि न्याय माग्नेहरू अस्ताएका थिएनन्।
न्याय माग्न आएकाहरूको घरबाट खबर आयो-
कोही प्रसव पीडाले छट्पटाइरहेका छन्,
कोही पेट भर्नका लागि कराइरहेका छन्,
कोही आकुलव्याकुल हुँदै न्याय पाउने प्रतीक्षामा छन्।
तर यता सडक अझै तातिरहेकै थियो 
र उनीहरू भन्दै थिए -
"सरकार, हामीलाई न्याय देऊ।"

समाप्त ।               रचना मिति : २०७७ जेष्ठ २

Post a Comment

0 Comments