काठमाडौं, १२ साउन । कोरोना भाइरसको महामारीको कारण अहिले आर्थिक गतिविधि र बजारको चहलपहल निकै कम छ। कतिपय व्यवसायीहरूलाई बजारमा टिकिराख्न समेत गाह्रो परिरहेको छ। उनीहरूलाई भाडा तिर्न पनि धौधौ परिरहेको अवस्था छ। तर पनि लकडाउन खुल्नेबित्तिकै मोबाइलको कारोबार भने ह्वात्तै बढेको छ। मोबाइल पसलहरूमा अहिले अरुबेलाको दशैंको जस्तो भीडभाड देख्न सकिन्छ।
मोबाइल पसलहरूमा ग्राहकको भीड लागेको छ। यद्यपी बजारमा अहिले अन्तर्राष्ट्रिय हवाइ उडान हुन नसक्दा ग्राहको रोजाइ अनुसारको मोबाइल भने पर्याप्त छैन। नयाँ ब्राण्डका मोबाइलहरू बजारमा सकिएको स्थिति छ। सामसुङ, हुवावे, शाओमी जस्ता ब्राण्डका यथेष्ट मोबाइलहरू ग्राहकको रोजाइअनुसार नपाइने व्यापारीहरू बताउँछन्। सीमित मोडेलका मोबाइलहरू मात्र अहिले बजारमा खरिद गर्न सकिन्छ।
मोबाइल कारोबारको मुख्य हब मानिने काठमाडौंको न्यूरोडस्थित ताम्रकार हाउसमा अहिले मोबाइल किन्नेहरूले खचाखच भरिएको छ। व्यापारीहरूले ग्राहकको माग धान्न भ्याएका छैनन्। नयाँ मोडेलका मोबाइल खोज्नेहरू खाली हात फर्किनु परेको न्यूरोड मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए। मोबाइल आपूर्तिमा कमी आएको कारण ग्राहकले छुट पनि पाउन छाडेका छन्।




0 Comments