२०७६ सालको चैत्र ११ गते कोरोना भाइरसको संभावित संक्रमण रोक्ने उद्देश्यले सरकारले लकडाउन घोषणा गरेको थियो। घोषित लकडाउनको कारण नेपालमा कुनै पनि किसिमको आर्थिक गतिविधि र सामाजिक चहलपहल हुन पाएन।
लगातार चार महिनासम्म लकडाउन झेल्नुपर्दा आम नेपालीको जनजीवन कसरी गुज्रियो होला, त्यो अनुमान सहजै लगाउन सकिन्छ। गाउँगाउँमा खेतीपाती र कृषि व्यवसायसँग सम्बन्धित कर्मबाहेक अरु गतिविधि ठप्प बन्न पुगेको थियो।
होटेल व्यवसायदेखि पर्यटनसम्म लकडाउनको मारमा पर्यो। अझ यसलाई यसरी पनि भन्न सकिएला - कि कोरोना महामारीको नकारात्मक प्रभाव नेपालको अर्थतन्त्र धराशायी नै बन्न पुग्यो । सरकारको पूर्व-घोषित 'नेपाल भ्रमण वर्ष २०२०' कार्यक्रम नै चौपट भयो र अन्ततः यसलाई स्थगित नै गर्नुपर्यो।
साउन ६ गते राती मध्यान्हदेखि लागू हुने गरी सरकारले लकडाउन समाप्त भएको घोषणा गरेपछि भने पुनः आर्थिक गतिविधि र चहलपहलले गति लिन थालेको छ। नराम्ररी थलिएको अर्थतन्त्र ब्युँतिने प्रयास गरिरहेको छ। बजार चलायमान बनेको छ। निर्माण कार्यहरू सञ्चालनमा आउन थालेका छन्। कोरोनाको बढ्दो सन्त्रासका बीच पनि आशा फेरि एकपटक जागेको छ।
हो, विगत चार महिनादेखि पूर्ण रूपमा बन्द रहेको पर्यटकीय गतिविधि आजबाट औपचारिक रूपमा खुलेका छन्। होटेल, पर्वतारोहण, पदयात्रा तथा टुरसम्बन्धी काम गर्ने पर्यटकीय कम्पनीहरूले आफ्ना कार्यालयहरू सञ्चालनमा ल्याउन थालेका छन्।
व्यवसायीहरूले कार्यालयहरू सञ्चालनमा ल्याउन शुरु गर्नुले पक्कै पनि सकारात्मक सन्देश दिएको छ। तर अझै पनि कतिपय व्यवसायीहरू कार्यालय खोलिहाल्ने मनस्थितिमा छैनन्। ठूलो रकम लगानी गरेर व्यवसाय शुरु गरेका व्यवसायीहरूको लगानी अहिले हरिबिजोग भएको छ।
सरकारले तत्काल प्राप्त हुनेगरी कुनै विशेष राहत प्याकेज घोषणा गर्ने छनक देखिँदैन। हुन त पर्यटन व्यवसाय मात्र नभई हरेक क्षेत्र मारमा परेको छ, तर सबै क्षेत्रलाई संकटबाट बाहिरिन सक्नेगरी सरकारले कुनै राहत कार्यक्रम ल्याएको छैन।
जेजस्तो भएपनि कोरोनाको कहर केही कमजोर बन्दै गएको आभाष आम-मानिसलाई भएको छ। यदि अवस्था सामान्य बन्दै जाने हो भने सुस्ताएको अर्थतन्त्र जाग्न समय लाग्दैन।
पर्यटन व्यवसाय खुल्ने भनिए पनि तत्काल घुमफिरको वातावरण नबन्ने निश्चित छ। लकडाउन खुलेको भनिएपनि सरकारले केही प्रतिबन्धहरू अझै कायमै राखेको छ। हवाई र सडक यातायातमा प्रतिबन्ध हटिसकेको छैन। अहिले पनि एक जिल्लाबाट अर्को जिल्लामा जान पास अनिवार्य छ। घुम्न जानको लागि अहिले नै पास पाइने स्थिति छैन।
ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछन्। हामी सुरक्षित छौं भन्ने सुनिश्चित गराउन आफूहरू लाग्ने उनको भनाइ छ। नेपाल घुम्न आतुर पर्यटकहरूले असोज, कार्तिक र मंसिरका लागि बुकिङ शुरु गर्ने अपेक्षा गरिएको छ।
व्यवसायीहरूले त्रिभुवन विमानस्थलमै पर्यटकको पीसीआर परीक्षण गर्न माग गरेका छन्। नेेपाल प्रवेशपछि लामो समय क्वारेन्टिनमा बस्नुपर्ने झन्झटिलो व्यवस्थाका कारण पर्यटकहरू नेपाल आउन हच्किन सक्ने देखिन्छ। यदि आफ्नै खर्चमा पर्यटकले विमानस्थलमै पीसीआर परीक्षण र रिपोर्ट प्राप्त गर्न सक्ने हो भने उनीहरू नेपाल आउन सक्छन्।
कम्तीमा चार दिन होटेल क्वारेन्टिनमा राख्ने योजना मन्त्रालयको रहेकोप्रति व्यवसायीहरू चिन्तित छन्। यस्तो व्यवस्थाले पर्यटकहरू नेपाल आउने संभावना कम हुने उनीहरूको धारणा छ।
नेपालमा पर्यटन व्यवसायको ठूलो संभावना रहँदा रहँदै पनि यसको विकासमा चुनौतीहरू थुप्रै छन्। झन् कोरोनाको जारी संकटले चुनौती थपिदिएको छ। पर्यटनको सन्तुलित विकास हुनसके मात्र नेपालको अर्थतन्त्र मजबूत हुनसक्छ। त्यसैले, विद्यमान सबै चुनौतीहरूको सामना गर्न सरकार र सरोकारवालाहरू सबै लाग्नुपर्ने देखिन्छ।




0 Comments