विश्वमा अहिले कोरोना भाइरस अर्थात् कोविड-नाइन्टिन रोगको महामारीले आम-जनजीवनलाई प्रभाव पारेको छ। विभिन्न त्रास र आशंकाका बीच मानिसले आफ्नो जीवन बाँचिरहेका छन्। कोरोनादेखि डराएर भाग्नुभन्दा पनि अब कोरोनासँगै कसरी दैनिकी चलाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने बेला आएको छ। महामारी शुरु भएयता हामीले हाम्रो दैनिकी र जीवनशैलीमा धेरै परिवर्तन गरिसकेका छौं।
मास्क वा अनुहार ढाक्ने चिज, सेनिटाइजर, साबुन-पानी लगायतका कतिपय चिजहरू अहिले हाम्रो दिनचर्यासँग गाँसिएको छ। मास्क हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ भन्ने कुरामा कुनै शंका रहेन। घर, अफिस, सहर, बजार, बाटोघाटो जहाँसुकै जाँदा पनि मास्क पहिरनु अनिवार्य बनेको छ।
भाइरसको संक्रमण रोक्न नाक र मुख छोप्न प्रयोग गरिने मास्कबारे हामीले केही कुरा जानकारी लिंदा राम्रो हुन्छ। सस्तो क्लिनिकल मास्क प्रयोग गरेपछि सुरक्षित ठाउँमा फ्याँक्न वा डिस्पोज गर्न सकिन्छ। तर कतिपय मास्क हामीले धोएर पुनः प्रयोग गर्न पनि सकिन्छ र गर्नैपर्ने हुन्छ।
अमेरिकन क्लिनिङ्ग इन्स्टिच्युट संचारका बरिष्ठ उपाध्यक्ष ब्रायन सनसोनी पनि मास्क नियमित धोएर पुनःप्रयोग गर्न सल्लाह दिन्छन्। भलै मास्क कतिपटक प्रयोग भयो भन्ने कुराले अर्थ राख्न सक्छ। त्यस्तै, गुड हाउस किपिङ इन्स्टिच्युटका होम अप्लायन्सेज एण्ड क्लिनिङ प्रोडक्ट्स ल्याब निर्देशक क्यारोलिन फोर्ट भन्छन् - फेब्रिक फेस कभरिङ एक मात्र यस्तो चिज हो जुन धोएर प्रयोग गर्न सकिन्छ।
त्यसोभए, मास्क कसरी धुने त?
फोर्टका अनुसार कपडाको मास्क धुन एकदम सजिलो छ। मास्कलाई वासिङ्ग मेशिनमा धुन पनि सकिने उनको भनाइ छ। मास्क तातो पानी र सामान्य डिटरजेन्ट पाउडर वा लुगा धुने साबुनले अन्य कपडा धोएसरह धुन सकिन्छ।
हातले मास्क कसरी धुने?
हातले सिलाएर बनाइएको मास्क तुलनात्मक रूपमा कमजोर हुने हुनाले हातले धुँदा राम्रो हुने विज्ञहरू बताउँछन्। तातो पानीमा २० देखि ३० सेकेण्डसम्म हातले हल्कासँग मिचेर मास्क धुन सकिन्छ। धोएको मास्कलाई ननिचोरी टक्टक्याएर सुकाउनु पर्ने हुन्छ। यसबाहेक, मास्कलाई तातो पानी र सर्फको घोलमा २०/३० मिनेट जति डुबाएर राख्ने र त्यसपछि त्यसलाई राम्ररी धोएर सुकाउन सकिन्छ।
दाग वा दुर्गन्ध कसरी हटाउने?
यदि मास्क गन्हाउने भएको छ वा दाग/धब्बाहरू लागेको छ भने इन्जाइमयुक्त दाग हटाउनेवाला पदार्थको पनि प्रयोग गर्न सकिन्छ।
मेकअप वा लिपिस्टिकको दाग
महिलाहरूले प्रयोग गर्ने मास्कमा अनुहारमा प्रयोग भएको मेकअप तथा लिपिस्टिकको दाग लागेको पनि हुनसक्छ। यस्तो दाग हटाउने सबैभन्दा उत्तम विधि भनेको अल्कोहल अर्थात् रक्सीको प्रयोग नै हो।
पसिना
पसिना एक प्रोटिनयुक्त दाग हो। यसलाई एन्जाइमेटिकको प्रयोग गरेर हटाउन सकिन्छ।
मास्क सुकाउँदा के कुरामा ध्यान दिने?
मास्क धोएर सुकाउँदा केही कुरामा जरूर ध्यान दिनुपर्ने हुन्छ। धोएपछि मास्कको स्वारूपमा केही परिवर्तन अवश्य आउँछ। कुनै मास्क धोएपछि खुकुलो हुने वा कुनै चाउरिन पनि सक्छ। कुनै मास्कमा भुवा पनि आउँछ र पहिलेभन्दा पातलो भएको महसूस हुन्छ। सबै मास्कलाई आइरन गर्न पनि मिल्दैन। कुनै मास्क धैरै चर्को घाममा सुकाउँदा चाउरिन पनि सक्छ। त्यसकारण पनि हामीले मास्क सुकाउँदा निकै ख्याल पुर्याउनु पर्ने हुन्छ।




0 Comments