विज्ञापन

गजल

           
                  - भानुभक्त बिष्ट


    कन्दरामा नहर कुलो खुलाएर देश बाँच,
    स्वाभिमानी बन छाती फुलाएर देश बाँच ।१।

    कस्ले छेक्छ कस्ले रोक्छ पौरख गर्ने हातलाई,
    पखेरामा अन्न-बाली झुलाएर देश बाँच ।२।

    नजाऊ भो आँशुसँग पैसो साँट्न विदेशतिर,
    बरु यतै भेडाबाख्रा डुलाएर देश बाँच ।३।

    सुन फल्छ, मोती फुल्छ यही बाँझो धरतीमा,
    सृष्टि रोप्न यही माटो धुल्याएर देश बाँच ।४।

    रङ्गीनै होस् परायाको सपना ती नीच हुन्छन्,
    झुपडीमै खस्रो मिठो तुल्याएर देश बाँच ।५।

    आफ्नै गोडा टेकी हिँड, स्वाभिमानी बन युवा,
    आत्मगौरव चोमोलुङ्मा चुल्याएर देश बाँच ।६।

    घाम छँदै बेसीबाट ढाकरमा खुशी ल्याऊ,
    बाआमाको वेदनालाई भुलाएर देश बाँच ।७।

Post a Comment

1 Comments