काठमाडौं, १८ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार तीन घण्टा लामो भेटवार्ता भएको छ।
यही साउन १३ गते प्रधानमन्त्री ओलीले एकपक्षीय रूपमा स्थायी कमिटि बैठक स्थगित गरेका थिए भने सोही दिन प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरूसहित बैठक राखेपछि दुई नेताबीच विवाद चुलिएको थियो। सोही दिनबाट टुटेको सम्वाद आइतबार पुनः बालुवाटारमा शुरु भएको हो।
छलफलमा प्रधानमन्त्री ओलीसँग संसदीय दलका उपनेता सुवास नेम्बाङ सहभागी थिए भने प्रचण्डका साथमा बरिष्ठ नेता झलनाथ खनाल सहभागी थिए।
वार्तामा सहभागीमध्येका नेम्बाङले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले दुई अध्यक्षबीच समझदारी बनाएर समस्याको निकास खोज्नुपर्नेमा दुवै नेता सहमत भएकाले भोलि निष्कर्षमा पुग्ने आशा व्यक्त गरे।
वार्तापछि ओली र प्रचण्डले आ-आफ्नो समूहका नेताहरूलाई ब्रिफिङ गरेका छन्।




0 Comments