विज्ञापन

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

  


वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका-३ का ७२ वर्षीय पुरुष, वीरगञ्ज-१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका-४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ ६ः२२ बजे निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिएको थियो । त्यही क्रममा उनको मृत्यु भयो । उपचारमा संलग्न चिकित्सकका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि आफन्तले उनलाई अस्पतालमै छोडेर गए ।गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । भदौं ११ गते बिहीबार बिहान ८ः१० मा उनको मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

एउटा खुट्टामा समस्या भएका कारण बैसाखीको सहायतामा हिँडडुल गर्ने उनलाई भदौं ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै मृगौला फेल भएका कारण एक वर्षदेखि उनी वीरगञ्ज हेल्थ केयर अस्पतालमै डायलायसिस गराउँदै आएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि पनि हेल्थ केयरमा उनको मृगौलाको डायलायसिस गराइएको थियो । तर जति कोशिस गर्दा पनि बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

वीरगञ्जमा मृत्यु भएका ४५ जनामध्ये ३३ जना पर्साका, १० जना बाराका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

Post a Comment

0 Comments