विज्ञापन

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौं, २७ साउन । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ।

कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको’ बताए।

उनले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। 

सरकारी र गैर-सरकारी कार्यालयले समेत ५० प्रतिशत कर्मचारी मात्र कार्यालय आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउन आग्रह गरिएको छ। जनसम्पर्क बढी हुने कार्यालयले अनलाइन सेवा दिन सम्भव नभएमा अर्को निर्णय नभएसम्म बन्द रहने पनि उनले बताए।    

यसैगरी रेस्टुरेन्टहरूमा बसेर खान नपाइने भएको छ। रेस्टुरेन्टहरूले  टेक अवे सेवा मात्र दिन पाउने छन्। यसअघि साउन १५ गतेदेखि रेस्टुरेन्टमा बसेर खान पाउने निर्णय भएको थियो।

त्यस्तै, बाहिरबाट स्थलमार्गमार्फत् नेपाल आउनैपर्ने नेपालीहरूलाई यसअघि २० वटा नाकाबाट अनुमति दिइएकोमा अब १० वटा नाका प्रयोग गरेर मात्र नेपाल आउन पाउने सरकारले निर्णय गरेको छ। खतिवडाका अनुसार काँकडभिट्टा, रानी, माडर, वीरगञ्ज, गौर, कृष्णनगर, बेलहिया, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्र नेपाल आउन पाइनेछ।

Post a Comment

0 Comments