काठमाडौं, २४ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक अनिश्चित बनिरहेको बेला पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादको हल खोज्न तुरुन्तै स्थायी कमिटिको बैठक राख्न माग गरेका छन्।
पार्टीको पाँचौं बैठक असार १८ गतेयता अवरुद्ध हुँदै आएको छ। साउन १३ गते बोलाइएको बैठक नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रूपमा स्थगित गरेका थिए। तर बहुमत सदस्यहरूले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तुरुन्तै बैठक बसेको थियो।
त्यसयता पार्टीको आन्तरिक संकट झन् जटिल बन्दै गइरहेको छ। पार्टीभित्रको गुट एवं उपगुटमा भएको विभाजन र सत्ता र शक्तिको लागि भइरहेको आन्तरिक द्वन्द्वले पार्टीमा ठूलो समस्या सिर्जना भएको छ। पार्टीको स्थायी कमिटि बैठक सुचारु गर्न प्रवक्ता श्रेष्ठले माग गरेका छन्। उनले संकटको निकासको निम्ति जारी स्थायी कमिटि बैठक सुचारु गर्न माग गर्दै फेसबुकमा स्ट्याटस लेखेका छन्।
स्ट्याटसमा उनले भनेका छन्- "म फेरि जोड दिएर भन्छु- हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफ्ना विचार राखौं र छलफल गरौं। त्यसबीचमा आवश्यकता अनुसार शीर्षस्थ नेताहरूको बीचमा र सचिवालयमा गृहकार्य गरौं।"
अहंकार र पूर्वाग्रहबाट माथि उठेर स्थायी कमिटीको बैठक बस्नुपर्ने र पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन तथा केन्द्रीय कमिटीको निर्णयानुसार महाधिवेशनको तयारी गर्नेगरी निकास निकाल्नु पर्ने प्रवक्ता श्रेष्ठको प्रस्ताव छ। उनले पार्टीभित्रको बहस र अन्तरसंघर्षलाई सत्यौन्मुख रूपान्तरणको साधन बनाउन पनि अपिल गरेका छन्।
शुक्रबार स्थायी कमिटी सदस्य तथा प्रम ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आफूलाई गुटबन्दीको आगोमा नेताहरूलाई झोसेको आरोप लगाएकोप्रति संकेत गर्दै प्रवक्ता श्रेष्ठले व्यक्तिगत आरोप-प्रत्यारोप र गालीगलौजको रूपमा नभई वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न सुझाएका छन्।




0 Comments