विज्ञापन

भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


काठमाडौं, ३१ साउन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 

इन्स्टाग्राममार्फत् भिडियो सार्वजनिक गर्दै शनिबार पूर्व कप्तान एमएस धोनीले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन्। भिडियोको क्याप्सनमा उनले आफ्ना समर्थकहरूले दिएको माया र साथको लागि धन्यवाद दिएका छन्। 


धोनीलाई भारतीय क्रिकेट टिमको सफल कप्तान मानिन्छ। सन् २००७ मा राहुल द्रबिडपछि उनले कप्तानी सम्हालेका थिए। उनको कप्तानीमा भारतले तीनवटा आईसीसी ट्रफी जितेको थियो भने आफ्नो कप्तानीमा उनले भारतका लागि ५५ प्रतिशत खेल जिताएका थिए। सन् २००७ मा टि-ट्वेन्टी विश्वकप र २०११ मा एक दिवसीय विश्वकपको उपाधी जिताएका धोनीले सन् २०१३ मा च्याम्पियन्स ट्रफी उचालेका थिए।

५० ओभरको खेलमा १० हजार रन पार गर्ने उनी पाँचौं भारतीय खेलाडी हुन्। विकेटकिपर र ब्याट्सम्यानको भूमिकामा जमेका धोनीले एक दिवसीय खेलमा २ सय २९ छक्का प्रहार गरेका छन्। अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भएपनि चेन्नई सुपरकिंग्सका कप्तान धोनीले सन् २०२० मा यूएईमा हुने आईपीएल खेल भने खेल्नेछन्।

धोनीले टेस्ट क्रिकेटबाट सन् २०१४ मा सन्यास लिएका थिए। त्यसैगरी, जनवरी २०१७ देखि एक दिवसीय र टि-ट्वेन्टी को कप्तानी विराट कोहलीलाई सुम्पेका थिए। 

Post a Comment

0 Comments