विज्ञापन

उपराष्ट्रपति पदका लागि बाइडेनको ह्यारिस रोजाइ 'ऐतिहासिक'


काठमाडौं, २८ साउन । अमेरिकाको आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको दौडमा रहेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिको लागि सिनेटर कमला ह्यारिसलाई चयन गरेपछि अमेरिकी राजनीतिक वृत्त तात्तिएको छ।

बाइडेनले कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि आफूलाई चुनौति दिएकी क्यालिफोर्नियाकी सिनेटर ह्यारिसलाई ‘रनिङ्ग मेट’ अर्थात उपराष्ट्रपति उम्मेदवार बनाउने घोषणा गर्नु एउटा ऐतिहासिक घटना मानिएको छ । ह्यारिस उपराष्ट्रपति उम्मेदवार बन्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् ।

इन्डियन–जमैकन वंशज रहेकी ह्यारिस क्यालिफोर्नियाकी सिनेटर हुन् । डेमोक्र्याटिक पार्टी भित्र राष्ट्रपतिको उम्मेदवार बन्न चाहने धेरै नेताहरुमध्ये सुरुमा ह्यारिसलाई शीर्ष दाबेदारका रुपमा हेरिएको थियो । तर पछि उनको प्रदर्शन खासै राम्रो हुन सकेन र पछि उम्मेद्वारी फिर्ता लिँदै बाइडेनलाई समर्थन गरिन्।

शुरुदेखि नै उपराष्ट्रपतिको पदमा महिलालाई स्थान दिने बताउँदै आएका बाइडेनले महिला नेतृहरूसँगको लामो छलफल र अन्तर्वार्तापछि उपराष्ट्रपतिको दाबेदारको रूपमा रहेकी ह्यारिसलाई चयन गरेका हुन्।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति पदको लागि बाइडेनले रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् । बाइडेनले चुनाव जितेमा ह्यारिस उपराष्ट्रपति बन्नेछिन्। उनी पहिलो महिला र पहिलो अश्वेत तथा एसियन अमेरिकन उपराष्ट्रपति हुनेछिन्।

अमेरिकाको इतिहासमा यसअघि मात्रै दुईपटक महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले अफ्नो रनिङ्ग मेटका रुपमा चयन गरेका छन् । सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्र्याटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो । तर उनीहरू दुवै चुनावमा विजयी हुन सकेनन् ।

अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति र उपराष्ट्रपति बन्न सकेका छैनन्। झन् अश्वेत वर्गबाट कुनै पनि महिला राष्ट्रपतिको उम्मेदवार समेत बन्न सकेका छैनन्।

Post a Comment

0 Comments