भक्तपुर, १४ भदौ । भक्तपुरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।
मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते संक्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो ।
कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेको खत्रीले बताए ।
भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।




0 Comments