विज्ञापन

दुर्गेशको नयाँ तीज गीत 'बेसार- बीच्च बीच्चमा ३' ट्रेन्डिङमा

महिलाको कथा, व्यथा दर्शाउने तीज गीतको चलनभन्दा अलि पृथक विषयमा फरक स्वादको तीज गीत 'बीच्च बीच्चमा ३ ' युट्युबमा सार्वजनिक भएको छ। 

'बेसार' शीर्षकको उक्त गीतमा कोरोना भाइरस महामारी र लकडाउनबीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रष्टाचारसम्मका विषयवस्तुलाई समेटिएको छ।

गायक दुर्गेश थापाको यो नयाँ तीज गीतले सरकारले उल्लेखित विषयप्रति देखाएको चासो, प्रतिक्रियामा प्रश्न उठाएको छ भने यो गीत अहिले ‍ट्रेन्डिङमा छ। 

बसन्त थापाको शब्द र संगीत रहेको गीतमा पछिल्लो समय चर्चामा आएको 'बेसार' शब्दलाई केन्द्रमा राखिएको छ। 

सामाजिक राजनीतिक मुद्दालाई व्यंग्यात्मक शैलीमा गाइएको यस गीतका गायक दुर्गेश थापाको 'बीच्च बीच्चमा' गत वर्षको निकै चर्चित गीत हो। यो वर्ष उनले त्यही चर्चित गीतको लयमा नयाँ शब्द थपेर दुइटा गीत सार्वजनिक गरिसकेका छन्।

गीतको भिडिओमार्फत समेत केही सन्देश दिन खोजिएको छ। भिडिओमा दुर्गेश थापासँगै चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काको भिन्नै परिवेश देख्न सकिन्छ।

गीतको भिडिओ काजिस श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारी र उनको टोलीको सिनेमाटोग्राफी रहेको छ।

शनिबार सार्वजनिक गरिएको 'बेसार' गीत अहिले ट्रेन्डिङमा छ। 


Post a Comment

0 Comments