काठमाडौं, १६ साउन। नेपालमा पछिल्लो चौबीस घण्टामा २२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङको क्रममा गएको २४ घण्टामा २ सय २४ जनामा नयाँ संक्रमण भेटिएको जानकारी दिएका हुन्।
हाल नेपालमा देशका विभिन्न अस्पताल र आइसोलेशनमा गरी ५ हजार ३ सय १६ सक्रिय संक्रमित बिरामी रहेका छन्। यो अवधिमा एक सय एकाउन्न जना कोरोनामुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा नेपालमा कुल १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको थियो। पहिलोपटक एकैदिन १० हजारभन्दा बढीको संख्यामा परीक्षण गरिएको यो नै पहिलोपटक हो।
नेपालमा कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ७२ दशमलव ८ प्रतिशत अर्थात् १४ हजार ३ सय ९९ जना कोरोनामुक्त भइसकेका छन्। अहिलेसम्म ५६ जनाको कोरोनाको कारण ज्यान गएको छ।
काठमाडौंमा शुक्रबार ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एकजना रहेका छन्। बिहीबार उपत्यकामा ४५ जनामा कोरोना भेटिएको थियो।



0 Comments